राप्ती सोनारी गाउँपालिका
राप्ती सोनारी गाउँपालिकाको संक्षिप्त चिनारी नेपालको लुम्बिनी प्रदेश अन्तर्गत पर्ने बाँके जिल्लाको पूर्व उत्तर क्षेत्रमा अवस्थित छ, राप्ती सोनारी गाउँपालिका । मुलुक संघीय संरचनामा गएसंगै नेपाल सरकार निर्णय बमोजिम यस गाउँपालिकाको स्थापना वि.सं. २०७३/११/२७ गते भएको हो । यो गाउँपालिका जनसंख्याको हिसाबले नेपालकै दोश्रो ठूलो गाउँपालिका हो । राष्ट्रिय जनगणना २०७८ अनुसार यस गाउँपालिकाको जनसंख्या ६७७८२ (महिला ३५७६७ र पुरुष ३२०१५) रहेको छ । मूलरुपमा थारु समुदायको बाहुल्यता रहेको यस गाउँपालिकामा पहाडी समुदाय, मधेसी समुदाय र मुस्लिम समुदायको बसोवास रहेको छ । कुल क्षेत्रफल १०४१.७३ वर्ग कि.मि. रहेको यो गाउँपालिकाको अधिकांश क्षेत्र बाँके राष्ट्रिय निकुञ्जले ओगटेको छ । पूर्वमा दाङ जिल्ला, पश्चिममा कोहलपुर न.पा. र डुडुवा गा.पा.,उत्तरमा दाङ र सल्यान जिल्ला र दक्षिणमा नरैनापुर गा.पा. र भारतीय सीमानाको चौघेरामा यो गाउँपालिका आफैमा एक उपत्यकाको रुपमा रहेको छ । साविकका ६ वटा गाविसहरु खासकुश्मा, कचनापुर, बैजापुर, बिनौना, फत्तेपुर र महादेवपुरी मिलेर निर्माण भएको यो गाउँपालिकामा ९ वडामा विभाजित छ । जनसंख्या– ६७७८२ केन्द्र –साविक कचनापुर गा.वि.स. को कार्यालय वडा नं. २ को अगैया(हालै स्थानान्तरण भएको) क्षेत्रफल –१०४१.७३ वर्ग कि.मि